रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको छ: भीम रावल

सत्तारूढ नेकपा (एमाले) का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाए। 

नेता रावलले भने, ‘आज मन्त्रीहरू हेरौं त। जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री। जसको निजी स्कुल एकदम महंगो छ, ऊ शिक्षामन्त्री। जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ। निजलाई खोजीखोजी त्यहीँ नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय। गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान। के देशमा साँच्चै सुशासन आउन लागेको हो? हामीले बहुदली व्यवस्था ल्यायौं। गणतन्त्र ल्यायौं। यसको अभिष्ट के थियो? यत्रो मानिसहरूले रगत बगाए।’

नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो वीरंगानाहरूको योगदानको अवमूल्यन गर्ने काम भएको जिकिर समेत गरे। 

उनले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गरे। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *