प्रधानमन्त्रीलाई रवि लामिछानेले  भेटे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न आग्रह गरेका छन्।

प्रधानमन्त्री प्रचण्डसँग सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानप्रति खुसी व्यक्त गरेका हुन्।

‘नक्कली शरणार्थी प्रकरणबारे भइरहेको अनुसन्धानप्रति प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिएँ। भ्रष्टाचारविरूद्धको अभियान हाम्रो पनि हो, जसले नेतृत्व गरे पनि यो सबै पार्टीको साझा दायित्व हो, सबै दल मिलेर यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ। प्रधानमन्त्रीज्यू दह्रोसँग अनुसन्धान गर्नुहोस् भनेर दलको तर्फबाट पूर्ण साथ, सहयोग र समर्थन रहन्छ भनेर विश्वास दिलाएँ,’ सभापति लामिछानेले सेतोपाटीसँग भने।

प्रधानमन्त्रीमाथि दबाब परेको छ कि, अनुसन्धान प्रभावित भएर निष्कर्षमा पुग्दैन कि भन्ने लागेर त्यसबारे पनि जिज्ञासा राखेको उनले बताए।

‘प्रधानमन्त्री उच्च मनोबलमा हुनुहुन्थ्यो। कतिपय बेला दबाब, प्रभाव अनुहारमा देखिन्छ। मैले त्यस्तो रहेछ कि भनेर पनि बुझेँ र तर, उहाँको बडी ल्याङ्ग्वेज हेर्दा उच्च आत्मविश्वासी नै पाएँ। उहाँ निकै खुसी हुनुहुन्छ,’ लामिछानेले भने, ‘प्रधानमन्त्रीमा यसलाई निष्कर्षमा पुर्‍याउने हुटहुटी नै पाएँ।’

रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *